ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा एउटा टोली मानवीय सहायता सामग्रीसहित काबुल जाने भएको हो ।
गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएका छन् । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।
आइतबार राति औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित नेपाली टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । नेपाली टोली काबुल अन्तराष्ट्रिय विमानस्थलमै राष्ट्रसंघीय टोलीलाई सामग्री हस्तान्तरण गरेर फकर्ने छ ।
अफगानिस्तानलाई के–के सामग्री सहयोगस्वरूप उपलब्ध गराइँदै छ भन्ने विषयमा भने आक्ष्तबार मात्रै परराष्ट्रमन्त्री डा. नारायण खड्काले पत्रकार सम्मेलनमार्फत जानकारी दिने भएका छन् ।
संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने चेतावनी समेत दिएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने डब्लूएफपीको पक्षेपण छ ।
त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ । वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २२० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ ।
तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुन सक्ने डब्लूएफपीको चेतावनी छ ।