पर्यटनमन्त्री आलेबाट पशुपतिको धर्मशाला निरीक्षण


पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज पशुपतिस्थित धर्मशालाको निरीक्षण गरेका छन् । बतास समूहले भाडामा लिएर सञ्चालन गर्दै आएको सो धर्मशालाको भवन र विभिन्न संरचनाहरुको अनुगमनपछि मन्त्री आलेले आफूले सोचे भन्दा फरक रुपमा वतासले लिएको बताएका हुन ।

पशुपतिमा धर्मशालाको अनुगमनसँगै सोमबार पशुपति विकास कोषमा पत्रकार सम्मेलन गरी यसबारेको प्रतिवेदन पेस गर्ने बताएका छन् । मन्त्री आलेले आइतबारै ३ बजे नारायणहिटीमा बनेका संरचनाको अनुगमनका लागि जाने कार्यक्रम छ ।

सार्वजनिक सम्पत्तिमा हात हाल्न उद्यत आनन्द बतासले राजनीतिक पहुँचको बलमा पशुपति धर्मशालामा होटल चलाएका हुन् । पशुपति घुम्न आउने नेपाल तथा भारतका तीर्थयात्रीको सुविधाका लागि भारत सरकारले धर्मशाला बनाइदिएको थियो । तर सरकारसँग धर्मशाला लिएर उनले होटल आनन्द पशुपतिमा चलाएका छन् ।

आफूले धर्मशालामा चारतारे होटल चलाएर सुविधा दिएको दाबी बतास समूहले गर्दै आएको छ  । चार सय जना सुत्न मिल्ने गरी बनाएको धर्मशालाको आन्तरिक संरचना भत्काएर अहिले महँगा कोठा बनाइएको छ ।

केपी ओली नेतृत्वको सरकारका पाला पशुपति क्षेत्र विकास कोषले धर्मशाला बतासलाई जिम्मा लगाएको थियो । वर्षको १ करोड ५ लाख ४१ हजार भाडा लिने गरी १५ वर्षका लागि २०७६ वैशाख ३० मा बतास समूहसँग सम्झौता भएको थियो । यही धर्मशालामा बतासको कर्पोरेट कार्यालयसमेत राखिएको छ । त्यस्तै प्रांगणमा पुराना गाडीको प्रदर्शनीस्थल पनि बनाइएको छ ।