प्रदेश २ को नाम र राजधानी तोक्न आज फेरी मतदान हुँने


काठमाडौं, माघ ०३। प्रदेश २ को नाम र स्थायी राजधानी तोक्न दोस्रोपटक आज प्रदेश सभा बैठकमा मतदान हुने छ ।

प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन भनेर प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले यस विषयमा सहमति जुटाउन नसकेपछि आज पुनः मतदान गर्न लागिएको संसद संचिलालयले जनाएको छ ।

समितिले आइतबार बसेको प्रदेश सभा बैठकमा यसै साता गोप्य मतदानलगायत ६ वटा विकल्पसहितको प्रतिवेदन पेस गरेको छ।

विशेष समितिले गत पुस १५ देखि २७ गतेसम्म भएका ८ वटा बैठकबाट प्रदेशको सम्भावित नामका लागि पेस ६ वटा नामलाई ४ र राजधानीका लागि पेस ६ प्रस्तावलाई ३ मा सहमति गरेको हो ।

जसअनुसार प्रदेशका लागि ‘मधेस प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ नाम तथा स्थायी प्रदेश राजधानीका लागि जनकपुरधाम र वीरगन्ज दुई स्थान प्रस्ताव गरिएको छ। वीरगन्ज प्रस्तावमै पनि भूभागका सन्दर्भमा फरक–फरक प्रस्ताव भएकाले राजधानीका सन्दर्भमा ३ प्रस्ताव भएका हुन्।

‘मधेस प्रदेश’ नाम सत्तारुढ जनता समाजवादी पार्टी ९जसपा० र सत्ता घटक नेकपा माओवादी केन्द्रको संयुक्त प्रस्ताव हो भने त्यसमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले समर्थन गरेको छ।

‘मिथिला भोजपुरा’ नामको प्रस्ताव नेपाली कांग्रेसले राखेको हो। जसको प्रस्तावक कांग्रेसका प्रदेश सांसद शिवचन्द्र चौधरी हुन्।

‘जानकी प्रदेश’ को प्रस्ताव नेकपा एकीकृत समाजवादीको हो। यसमा प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गरेको छ।

त्यस्तै ‘मध्य मधेस प्रदेश’ नामको प्रस्तावक कांग्रेसका राजेश्वरप्रसाद साह हुन् भने यसमा कांग्रेसकै शंकरप्रसाद चौधरी, ओम प्रकाश शर्मा र असिया देवी थरुनीले समर्थन गरेका छन्।

जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्ताव सबै दलको साझा प्रस्ताव हो। उत्तरमा धनुषा ढल्केवरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र रहेको जनकपुरधामलाई प्रदेश राजधानी बनाउनु उपयुक्त हुने दाबी प्रस्तावमा गरिएको छ।

यस्तै प्रदेश राजधानी वीरगन्ज बनाइनुपर्ने अर्को प्रस्ताव छ। जसपाका सांसद सिंगासन साह कलवार ले ‘वीरगन्ज’ राजधानी हुनुपर्ने प्रस्ताव राखेका हुन्।

सम्भावित राजधानी वीरगन्जअन्तर्गत पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सा गढी नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ हुँदै सिम्रोनगढभित्रको भूभाग समेटिएको छ।

यसमा लोसपाका सांसद प्रह्लाद गिरी गोस्वामी, जसपाकी सांसद करिमा बेगम र भीमा यादवले समर्थन गरेका छन्। तेस्रो प्रस्तावमा राजधानी वीरगन्ज नै रहे पनि यसमा वीरगन्ज महानगरपालिकाभरिको भूभाग मात्र समेटिएको छ।

जसको प्रस्तावक कांग्रेसका राजेश्वर प्रसाद साह हुन् भने कांग्रेसकै शंकरप्रसाद चौधरी, ओम प्रकाश शर्मा र असिया देवी थरुनी समर्थक छन्।

प्रदेशको नाम र स्थायी राजधानीका लागि पेस प्रस्ताव पारितको लागि प्रदेश सभामा हाल कायम सदस्य संख्याको दुईतिहाइ बहुमत पुग्नुपर्ने संवैधानिक व्यवस्था छ। तर कसैको प्रस्तावमा दुईतिहाइ पुग्ने नदेखिएकाले प्रदेशको नाम र स्थायी राजधानीका लागि पेस दुवै प्रस्ताव फेरि ‘फेल’ हुने सम्भावना छ।

प्रदेश सभामा हाल ६ वटा दल र एक स्वतन्त्र सांसद गरी १०४ जना सांसद छन्। जसमध्ये सत्तारूढ जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३ र माओवादी केन्द्रका ८ जना छन्।

यस्तै प्रमुख प्रतिपक्षी लोसपाका १६ र प्रतिपक्षी एमालेका ८ र नेपाल संघीय समाजवादीका १ जना प्रदेश सांसद छन्। दुईतिहाइका लागि ७० जना सांसदको मत चाहिन्छ।

तर प्रदेश राजधानीबारेको प्रस्तावमा दुईतिहाइ पुग्ने सम्भावना देखिए पनि नामका सम्बन्धमा भने दुईतिहाइ बहुमत कसैसँग छैन।

रौतहट, बारा र पर्साका सबै दलका केही सांसद राजधानी वीरगन्ज हुनुपर्नेमा आन्तरिक तथा बाह्य अभ्यासमा देखिएकाले जनकपुरधाम राजधानी हुनुपर्ने सबै दलको साझा प्रस्ताव पनि फेल हुने सम्भावना छ।

मधेस प्रदेश नाम हुनुपर्ने पक्षमा तीन दल जसपा, लोसपा र माओवादी केन्द्र छन्। जसमा नेपाल संघीय समाजवादी पार्टीले मत दिने देखिन्छ। यसो हुँदा उनीहरूका पक्षमा कूल मत ६४ हुन्छ तर ६ मत पुग्दैन।

प्रदेश २ का नाम र राजधानी तोक्ने विषयमा यसअघि २०७७ चैत ५ गते पनि प्रदेश सभामा मतदान गरिएको थियो। तर कुनै पनि प्रस्तावमा दुईतिहाइ मत नपुगेपछि पारित हुन सकेन।