प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने


हाल प्रधानमन्त्री भएपछि पहिलो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका थिएनन ।

बालुवाटार स्रोतले सरकार गठन भएको ६ महिनाको सन्दर्भ प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने तयारी भएको जनाएको छ । सम्बोधन गर्ने भएपनि मिति र समय भने गोप्य नै राखिएको छ ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा विश्वासको मत लिएपछि सम्बोधन गरेका थिए । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ ।

तर पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनेका देउवाले सरकार गठनको ६ महिनासम्म पनि राष्ट्रका नाममा सम्बोधन गरेका छैनन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि प्रधानमन्त्रीको सम्बोधनमार्फत् सरकारका ६ महिनाका उपलब्धी सार्वजनिक गरिने बताए ।

यता सरकारका मन्त्रीले भने आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्न प्रतिस्पर्धा नै गरेका छन् । देउवा सरकार निर्माण भएको ६ महिना वितिसक्दा समेत आम नागरिकको जीवनमा प्रभाव पार्ने गरि कुनै पनि किसिमका काम हुन नसकेको भन्दै आलोचना हुने गरेको छ ।

अहिलेको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेको काममा चर्चा भएपनि अन्य मन्त्री भने जागिर खानकै लागि मात्र मन्त्रालय जाने गरेको सर्वसाधारणको आरोप छ । यता संसद् दोस्रो पटक पुर्नस्थापित भएपछि निर्माण भएको सरकारले संसदलाई कुनै विजनेश दिन सकेको छैन ।

प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले ६ महिनादेखि निरन्तर संसद अवरोध गर्दै आएको छ । जसको निकास नत सरकारले निकाल्न सकेको छ नत सभामुखले नै ।

जसको कारण संसदबाट नयाँ संविधानलाई कार्यान्वयन गर्न दजनौ ऐन कानून र नियमावलीहरु निर्माण गर्ने जिम्मेवारी संसदको हो । संसद बैठक नियमित हुन नसक्दाँ संसद पुर्नस्थापित हुनुमा भिन्नता भएको छैन । केवल सरकारमा नयाँ अनुहार मात्र आएका छन् ।