सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्दै


काठमाडौं, माघ ४। सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । स्थानिय तहको चुनावको मिति घोषणा गर्न सरकारमाथि दबाब बढिरहेको बेला सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिको आजको बैठकमा आगामी बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल हुनेछ । राष्ट्रियसभाको निर्वाचन यही माघ १२ गते हुँदैछ । आगामी जेठमा कार्यकाल सकिन लागेको स्थानिय तहको चुनाव बैशाखमै गराउन सरकारमाथि दबाब छ ।

उता सत्ता गठबन्धनका मुख्य घटकहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन पर सार्ने र तीनै तहको निर्वाचन एकसाथ गराउनु पर्ने दबाव प्रधानमन्त्री शेरबहादुर देउवालाई दिईरहेका छन् । यो प्रस्तावले प्रधानमन्त्री देउवा अप्ठेरोमा पर्नुभएको छ । निर्वाचन आयोगले आगामी बैशाखमा स्थानीय तहको निर्वाचनका लागि मिति समेत प्रस्ताव गरिसकेको छ ।