सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु


काठमाडौं, माघ ४। सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ। सत्ता सञ्चालक दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।

बैठकमा सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचन र कोरोना नियन्त्रणलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।

सत्तारूढ कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार भएको भेटवार्तापछि आजका लागि राजनीतिक समन्वय समितिको बैठक तय भएको हो।

सरकार सञ्चालनमा सहयोगका लागि कांग्रेसका वरिष्ठ नेता पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसबाटै कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन्। साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन्।

केही दिनअघि निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो।

संविधानमा स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल ५ वर्षको हुने व्यवस्था छ । विशेष अवस्थामा यसको म्याद ६ महिना थप गर्न सकिने व्यवस्था छ।

सामान्यतया कार्यकाल सकिनु २ महिना अगाडि नै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। स्थानीय तहको निर्वाचन भएको ५ वर्ष आगामी बैशाखमा पुग्दै छ ।