वैशाखमै स्थानीय तहको निर्वाचन हुने


सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले आगामी बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमित गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको हो । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानबमोजिम समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा सहमत भएका हुन ।

दल संविधान बमोजिम समयमै निर्वाचनको मिति तोक्न सहमत भएपनि केही प्राविधिक र कानूनी विषय मिलाउन बाँकी भएकाले बिहीबार बस्ने बैठकले निर्णय गर्ने भएको हो ।

हालका सत्ता गठबन्धनदलबीच स्थानीय तहको निर्वाचनमा संयुक्त रुपमा निर्वाचन लड्ने वा अलग अल्ग भन्ने विषयमा सहमति भएपछि मात्र मिति तोक्ने बुझिएको छ ।

नेपालीकांग्रेस भित्र साझा रुपमा निर्वाचन नजाने भन्दै चर्को दवाव पर्न गएको छ । यता सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने सत्तारुढ दलबीच संयुक्त निर्वाचनमै जाने पक्षमा अहिलेसम्म उभिएका छन् ।

सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् । साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।