दुबईबाट काठमाडौं आएका युवा अपहरण गरी बन्धक बनाउने तीन जना पक्राउ


दुबईबाट रोजगारी गरेर फर्किएका एकजना युवकलाई अपहरण गरेर बन्धक बनाएको घटनामा संलग्न तीनजना पक्राउ परेका छन्।

सिरहा सखुवानाकारकट्टी गाउँपालिका वडा नं. ५ निवासी ३० वर्षीय रामेश्वर रामलाई गत असोज ८ गते अपहरण गरिएको थियो।

दुबईबाट गत असोज ८ गते बिहान ७ बजेतिर आएर काठमाडौँ ओर्लिएर उनी बल्खुस्थित होटल कञ्चनजङ्घामा बसेका थिए।

त्यही होटलमा पुगेका तीनजनाले उनलाई अपहरण गरी ज्याठास्थित होटल प्लेजर होमको कोठामा लगेर बन्धक बनाएका थिए।

उनलाई त्यहाँ बन्धक बनाई कुटपिट गरी, मार्ने धम्कीसमेत दिएको खुलेको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

उनलाई बन्धक बनाएपछि उनीहरुले आफूले पिएका चुरोटको ठुटाले पोलेर यातना दिएको पनि खुलेको छ। उनीहरुले रामको साथमा रहेको झोला र मोबाइल समेत लुटेको खुलेको छ।

तर बन्धक बनाएको स्थानबाट रामेश्वर राम भाग्न सफल भएर प्रहरीको सम्पर्कमा आएका थिए। यो घटनामा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने ३२ वर्षीय सन्जोग राई पक्राउ परेका छन्। त्यस्तै सो नगरपालिकाकै बासिन्दा ३० वर्षीय रमेश अर्याल पनि समातिएका छन्।

यो घटनामा संलग्न मकवानपुरगढी गाउँपालिका वडा नं–५ घर भई हाल काठमाडौंको वसन्तनगरमा होटल व्यवसाय गर्दै आएका ३१ वर्षीया गोकुल घिमिरे पनि पक्राउ परेका छन्।

उनीहरुमध्ये सन्जोग राई र रमेश अर्याललाई पुस ३० गते काठमाडौंको जरङ्खुबाट पक्राउ गरिएको छ। गोकुल घिमिरेलाई माघ २ गते वसन्तनगरबाट पक्राउ गरिएको छ।

मैनालीका अनुसार उनीहरु तीनैजनालाई काठमाडौं जिल्ला अदालतबाट दिन ७ को म्याद लिएर अनुसन्धान भइरहेको छ।