सुनसरीको बर्जु महोत्सव हेर्न गएका दर्शकद्वारा तोडफोड र गाडीमा आगजनी


काठमाडौं, माघ ५। सुनसरीको बर्जु महोत्सवस्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भिडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको हाे ।आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सवस्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भिडले तोडफोड गरेको हो ।

महोत्सव आयोजकले कार्यक्रमस्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोसित बनेको भिड तोडफोड र आगजनीमा उत्रिएकाे थियाे। तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय गाडीमा पनि आगजनी गरेका छन् । भिड अनियन्त्रित भएपछि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ । कार्यक्रमका लागि आएका भारतीय कलाकारलाई प्रशासनले विराटनगरमै रोकेपछि कार्यक्रम हेर्न भेला भएको भिड तोडफोडमा उत्रिएको हो ।

पुष २३ गतेबाट महोत्सव सञ्चालनको इजाजत दिएको प्रशासनले कोरोना सङ्क्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो । प्रशासनको निर्देशन बेगर आयोजकले भारतीय कलाकारको प्रस्तुति तय गरी टिकट बिक्री गरेको थियो । सुनसरी प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न भनिएकोमा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भिड आक्रोसित बन्दा घटना सिर्जना हुनपुगेको बताएको छ।