कोरोना संक्रमण दर अहिलेसम्मकै उच्च, परिक्षणको आधामा संक्रमण पुष्टी


काठमाडौं, माघ ५। नेपालमा कोरोना संक्रमणदर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हिजो २२ हजार ८ सय २८ जनाको परीक्षण गर्दा ४५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । हाल देशभर संक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।

ओमिक्रोनको संक्रमण ह्वात्तै बढेसँगै संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि १२ पुगेको छ । यसैबिच, माघ महिनाको दोस्रो साता नेपालमा कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आकलन मन्त्रालयको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा कोभिड–१९ को अवस्थाबारे प्रतिवेद पेस गर्दै सो तथ्यांक सार्वजनिक गर्नुभएको हो । दैनिक संक्रमितको संख्या १९ हजार बढी भएसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्ने प्रक्षेपण गरिएको छ ।