परीक्षा केन्द्रमा विद्यार्थीको आन्दोलन, प्रहरीबाट लाठीचार्ज


परीक्षा केन्द्रमा विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ । बानेश्वरस्थित बुद्धनगरमा कान्तिपुर इन्टरनेश्नल कलेजमा परीक्षा दिन आएका विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो ।

कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थीमाथी प्रहरीले लाठी चार्ज गरेको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको जनाएको छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ ।

बुधबार कानून विषय स्नातक तह बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो । अहिलेसम्म परीक्षा सुरु भएको छैन ।

विद्यार्थीहरुका अनुसार स्वास्थ्य मापदण्डको न्यूनतम पालना पनि नभएकाले विद्यार्थीले कलेजको गेटमा तालाबनदी गरेका छन् । विद्यार्थीले सरकारले तोकेको स्वास्थ्य मापण्डका आधारभूत सर्त समेत पालना नगरेको भन्दै थप आक्रोशित भएका हुन ।

मंगलबार हिमालयन ह्वाइट हाउस कलेज, पुतलीसडकमा पनि संक्रमित र संक्रमण नभएको विद्यार्थीलाईसँगै राखेर परीक्षा लिइएको भन्दै विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका थिए ।

उनीहरुले कोरोना संक्रमण भई अस्तालमा उपचार गराएका विद्यार्थीलाई समेत मौका परिक्षा दिनुपर्ने, अनलाईन प्रणालीबाट परिक्षा लिइनुपर्ने सम्पूर्ण स्वास्थ्यका मापदण्ड पालना गराईनुपर्ने, एक बेच्चमा एक जना मार्फत विद्यार्थी राख्नुपर्ने लगायतका सर्त राखी परीक्षा केन्द्रमै आन्दोलन गरेको हो । प्रहरीले दजर्नौ गाडीसहित सयौं प्रहरी परिचालन भएका थिए ।