परिक्षणमा आधा बढिलाई कोरोना संक्रमण, ११ हजार ३५२ जनामा संक्रमण पुष्टि


नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको बताएका हुन ।

यसैबीच उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६ सय ६६ जना गरी ६ हजार ३ सय ४३ जना संक्रमित भएका छन् । कोरोना परिक्षण गरिएका मध्ये ५२ प्रतिशत भन्दा बढिमा कोरोना संक्रमण देखिएको हो । कोरोना परिक्षणको शुल्क महगौ भएकाले सर्वसाधारण कोरोनाको लक्षण देखिएपनि परिक्षण गर्न नगएकाले समुदायस्तरमै कोरोना फौलिएको हो ।

कोरोना परिक्षणको शुल्क कम भएमा धेरै जनाले परिक्षण गर्ने र समयमै रोग नियन्त्रण हुने अपेक्षा समेत गरिएको छ । त्यसैले सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ ।

यसअघि यो शुल्क एक हजार थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो । शुल्क घटेसंगै परिक्षण गर्ने दरमा समेत बृद्धि हुने छ ।