३ हजार बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण


काठमाडौं, माघ ६ । कोरोनाको तेस्रो चरणमा प्रवेश गरेसंगै नेपाली सेनाका ३ सय १३ जना सैनिकलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तेस्रो लहरमा कोरोना पुष्टि हुने सैनिकको सङ्ख्या बढेपछि जंगी अड्डाले जनाएको छ ।

कोरोना संक्रमण बढेसंगै सेनाले थोरै जनशक्तिबाट सैनिक गतिविधि सञ्चालन गर्न मातहतलाई सर्कुलर गरेको छ ।नेपाली सेनाको युद्धकार्य निर्देशनालयले आइतबारबाट लागु हुने गरी उपत्यकासहित चारवटा कमाण्ड र मातहतका सबै युनिटलाई सो सर्कुलर गरेको जनाएको छ ।

सर्कुलर अनुसार कार्यालय सञ्चालन गर्दा न्यूनतम जनशक्ति मात्रै परिचालन गर्न भनिएको छ । पहिलो र दोस्रो लहरमा जे पूर्व तयारी थियो अहिले त्यसैलाई निरन्तर गरिएको सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालले बताएका छन् ।

सेनाले थोरै जनशक्तिबाट अफिस सञ्चालन गरेनुका साथतै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तयार गरेको स्वास्थ्यका मापदण्ड पालना गरेर काम गरेको जनाएको छ ।

सङ्क्रमित ३ सय १३ सैनिकहरू अस्पताल, क्वारेन्टिन र होम आइसोलेसनमा राखिएको नेपाली सेनाले जनाएको छ । यता नेपाल प्रहरीमा तेस्रो लहर सुरु भएसँगै बुधवार साँझसम्म ५ सय ४ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा मात्र ६० जना स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी सशस्त्र प्रहरीमा २ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत सुरक्षाकर्मीहरू मध्ये अहिले १ हजार ३८ जना आइसोलेसनमा छन् ।

कोभिड–१९ सङ्क्रमणको तेस्रो लहर सुरु भएसँगै सबै सुरक्षा निकायले पूर्व सावधानी अपनाउन आन्तरिक सर्कुलर गरेका छन् ।