टिकटकले खस्कायाे नेपाली सेलिब्रिटीकाे स्टारडम


काठमाडौं, माघ ८। कुनै समय थियो सेलिब्रिटी विशेषतः कलाकारहरुलाई हेर्न अझ भनौं उनीहरुको अभिनय हेर्न दर्शक चलचित्रको पर्दा कुरेर बस्थे । सेलिब्रिटीहरु के खान्छन् ?, कहाँ बस्छन् ?, घर कस्तो हुन्छ ?, उनीहरुको दिनचर्या पनि आम मानिसको जस्तै हुन्छ कि फरक हुन्छ होला ? भन्ने कौतुहल दर्शकमा हुन्थ्यो ।

जब फेसबुक प्रयोगमा आयो दर्शकका यी कौतहुल आंशिक रुपमै भए पनि सम्बोधन भए । फेसबुक आएसँगै कलाकारहरुको दिनचर्या विस्तारै त्यसमा पोस्ट हुन थाल्यो । आम दर्शकले थाहा पाए सेलिब्रिटीहरु पनि आम मानिसको जस्तै व्यक्तिगत सम्बन्धमा रमाउँदा रहेछन् ।

इन्स्टाग्राममा सेलिब्रिटीहरु फेसबुकमा भन्दा पनि धेरै खुल्न थाले । विदाको दिनमा को सँग कता गएदेखि के खाए, के–के गरे भन्नेसम्मका गतिविधिहरु त्यसमै पोखिन थाल्यो । सेलिब्रिटीहरुको व्यक्तिगत पाटोबारे जान्ने चाहना दर्शकलाई हुन्छ नै ।

सामाजिक सञ्जालको विकास र प्रयोग बढ्दै जाँदा कौतुहल घट्दै गएको छ । टिकटकले झन धेरै उनीहरुको निजी जीवन बाहिर ल्याइदियो । सेलिब्रिटीका नितान्त व्यक्तिगत कुराहरु टिकटकबाटै बाहिर आएपछि लाग्छ अब उनीहरुका दैनिक क्रियाकलाप हेर्न केही बाँकी छैन । उनीहरु यतिधेरै फुर्सदिला भए घण्टौं टिकटकमा लाइभ बस्छन् ।

टिकटकले नेपाली सेलिब्रिटीहरुलाई सस्तो बनाएकै हो ? “कलाकार भन्दैमा आम मानिसभन्दा सधैँ टाढा बस्नुपर्छ । उनीहरुको सम्पर्कमा नै आउनु हुन्न भन्ने होइन केही कलाकारकारहरु टिकटकमा लाइभमा आएरै गिफ्ट माग्ने र सजिलै उपलब्ध हुनु भने राम्रो होइन्,” निर्देशक दीपेन्द्र लामा भन्छन्, “तर यो भनिरहँदा सबै कलाकारलाई एउटै बकेटमा राखेर हेर्न मिल्दैन । लाइभमा बस्नु गलत होइन आफ्नो कामको प्रमोशनका लागि यो प्लेटफर्म प्रयोग गर्दा हुन्छ । तर, गिफ्ट माग्ने जस्ता कार्य गर्दा त्यसले नकारात्मक छबी बनाइरहेको हुन्छ ।” निर्देशक लामा फुर्सदमा टिकटकमा अनावश्यक लाइभ आउनुभन्दा उक्त समय अध्ययन अनुसन्धानमा खर्चिँदा राम्रो हुने बताउँछन् ।

टिकटकलगायत सामाजिक सञ्जालहरुले नेपाली सेलिब्रिटीहरुलाई सस्तो मात्रै बनाएको छैन उनीहरुको स्टारडम पनि खस्काइदिएको छ । पब्लिक फिगर भैसकेपछि आफ्नो छबीबारे कलाकारहरु सधैँ सचेत हुनुपर्छ । तर, नेपाली कलाकारहरुमा यो बुझाई निकै कम रहेको उनी बताउँछन् । परिणामः नेपालमा सेलिब्रिटीप्रति दर्शकलाई चासो छैन । तर, बलिउडमा कलाकारहरुप्रति ठूलो क्रेज छ । नेपाली सेलिब्रिटीहरु नेपालमा पापराजी नै नभएको भन्दै उल्टो गुनासो पोखिरहेका हुन्छन् । आफैं सामाजिक सञ्जालमा छरपष्ट भइसकेपछि जान्ने कुरा नै केही नरहेपछि कसले खोज्छ ?

भारतमा शाहरुख खान, सलमान खान, अमिताभ बच्चनजस्ता कलाकारहरुको एक झलक पाउन दर्शक घण्टौं उनीहरुका बंगाला बाहिर कुरेर बस्छन् । घरको बार्दलीमा आएर परबाट हात मात्रै हल्लाएर नमन गर्दा पनि प्रशंसकहरु धन्य ठान्छन् । यसले कलाकारहरुको स्टारडमलाई प्रस्ट्याउँछ । तर, के नेपाली सेलिब्रिटीहरुको स्टारडम पनि यस्तै बलियो छ ? निर्देशक प्रदीप भट्राई नेपाली सेलिब्रिटीहरुको स्टारडम नभएको बताउँछन् । “यसलाई स्टारडम छैन नै भन्नुपर्छ । त्यसैले त टिकटकमा भेटिएला कि इन्स्टाग्राममा भन्दै खोजिरहेका छन्,” उनी भन्छन् ।

नेपाली कलाकारहरु सामाजिक सञ्जालहरुमा सजिलै देखिनुमा उनी कोरोना महामारीको असर र गुमनाम हुने डरको परिणाम भएको बताउँछन् । “महामारीमा चलचित्र उद्योग ठप्प भयो । दर्शकसँग यही माध्यममार्फत मात्रै जोडिने कलाकारहरुसँग अर्को विकल्प नै भएन,” उनी भन्छन्, “दर्शकले नचिन्ने डर पनि हो । यो भनेको मायामा बिछोडको पीडा जस्तै हो । चिनिने कलाकारहरुलाई नचिनिने डर हो ।” सहजै उपलब्ध हुँदा यसको असर पर्दामा देखिने उनी बताउँछन् । सामाजिक सञ्जालमा सेलिब्रिटीहरु आउनु नै गलत नभए पनि निश्चित सीमाभित्र बस्नुपर्ने उनको धारणा छ ।