आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब


काठमाडौं, माघ ९। चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ । सो अवधिमा रु.नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले रु. एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९५५ दशमलव ४८ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा रु.६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात हुँदा नेपालले रु. ६० अर्ब ७९ करोड ९२ लाखको निर्यात गरेको थियो । निर्यात बढ्दै गए पनि आयात झन् धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ ।

व्यापार घाटा चुलिँदै

चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेर रु. आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा रु. ६ खर्ब ४४ करोड ६१ लाखको व्यापार घाटा भएको थियो ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको वैदेशिक व्यापार रु. ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार रु. सात खर्ब २२ अर्ब ४५ करोडको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशतले बढी हो ।

१४१ देशबाट आयात

चालु आवको पहिलो छ महिनामा नेपालमा १४१ देशबाट रु. नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट सो अवधिमा रु. ६ खर्ब तीन अर्ब ५४ करोड ५१ लाखको आयात भएको छ ।

भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट रु. एक अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ । यसैगरी नेपालले चालु आर्थिक वर्षको पहिलो छ महिनामा भारततर्फ रु. ९६ अर्ब ५६ करोड तथा चीनतर्फ रु. ४५ करोड ६२ लाख ४७ हजार मूल्य बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ ।