बार्सिलोनाको संघर्षपूर्ण जीत, रियल हारबाट जोगियो


काठमाडौं, माघ १०। बार्सिलोनाको संघर्षपूर्ण जीत, रियल हारबाट जोगियो फ्रांकी डि योङको एक मात्र गोलको मद्दतले बार्सिलोनाले संघर्षरत आलाभेसलाई हराउँदै स्पेनिस ला लिगाको पाँचौँ स्थानमा उक्लिएको छ । नेदरल्याण्डका मिडफिल्डरले फेरान टोरेसको पासमा ८७ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका हुन् ।

ज्याभीको टोलीले खेलमा नियन्त्रण बनाए भने लिगको १९ औँ स्थानमा रहेको आलाभेसले गोलका धेरै अवसरहरु सिर्जना गरेको थियो । खेलमा बार्सिलोनाको पोजेसन ७६ प्रतिशत रहेको थियो । जीतसँगै बार्सिलोनाले २१ खेलबाट ३५ अङ्क बटुलेको छ । चौथो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा मात्र १ अंकले पछि रहेको छ ।

उता, शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले खेलका अन्तिम ८ मिनेटमा दुई गोल गर्दै इल्चेसँग बराबरी खेलेको छ । दुई गोलले पछि परेको स्थितिलाई उल्टाउँदै रियलले अङ्क बाँडेको हो । लुकास बोय र पेरे मिलाले गोल गर्दै रियललाई उसैको मैदानमा स्तब्ध बनाएको थियो । तर, खेलको ८२ औँ मिनेटमा लुका मोड्रिचले पेनाल्टीबाट र इन्जुरी समयमा एडर मिलिटाओले गोल गर्दै रियललाई हारबाट जोगाए ।

यसअघि रियलको सर्वाधिक गोलकर्ता रहेका करिम बन्जेमाले पहिलो हाफमा पेनाल्टीबाट गोल गर्ने अवसर गुमाएका थिए । त्यसपछि उनी घाइते हुँदै मैदान छाडेका थिए । कार्लो एन्चेलोटीको टोलीका लागि बेन्जेमाले यो सिजन ३३ खेलमा २७ गोल गरेका छन् । २२ खेलपछि रियलको ५० अङ्क रहेको छ ।