भिजिट भिसामा विदेश जान वार्षिक ६ लाख आम्दानी हुनै पर्ने


सरकारले वार्षिक ६ लाख आम्दानी नभएका नेपाली नागरिकलाई भिजिट भिसामा जान रोक लगाएको छ। गृह मन्त्रालयले आठ बुँदे निर्देशन जारी गर्दै भिजिट भिसामा जान कम्तीमा खाडी मुलुकबाहेक दुई देश भ्रमण गरेको हुनुपर्ने र वार्षिक ६ लाख आम्दानी र त्यसको आधा अर्थात् तीन लाख खातामा रकम भएको हुनुपर्ने जनाएको छ।

आजबाट १८ देशमा भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको सरकारले यस्तो नयाँ नियम ल्याएको हो। कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएसँगै भिजिट भिसामा विदेश गएका नेपाली विभिन्न देशमा अलपत्र पर्न थालेका छन्। यसलाई मध्यनजर गर्दै रोक लगाएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

पछिल्लो समय भिजिट भिसामा विदेश गएका नेपालीहरु काम गरी बस्ने गरेका छन् । यसरी विदेशमा रहेका श्रमिकलाई महामारीको समयमा अझ धेरै समस्या पर्ने गरेको छ। त्यसैले भिजिट भिसामा रोक लगाएको मन्त्रालयले जनाको छ।

मन्त्रालयका अनुसार विरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि भिजिटमा जान दिने भएको छ। तर त्यसका लागि पनि नेपाली दूतावासको सिफारिसपत्र परराष्ट्र मन्त्रालयलाई प्राप्त भएपछि मात्र जान पाइनेछ।

वैदेशिक रोजगारी व्यवसाय प्रवर्द्धनका लागि जाने मेनपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि भिजिटमा जान दिइनेछ। त्यस्तै नेपालमा सामान आयत–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधि, सरकारी कामको सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायतलाई पनि यो सुविधा दिइने निर्णय भएको छ।

गत शुक्रबार गृहले ओमिक्रोनको कारण देखाउँदै पूर्ण रुपमा भिजिट भिसामा अनिश्चित कालिन रोक लगाएको थियो। सरकारको निर्णयको चौतर्फी आलोचना भएपछि यसलाई सच्चाउँदै नयाँ नियम ल्याएको हो।

वैदेशिक रोजगारीको प्रलोभनमा परी म्यानपावर, एजेन्टमार्फत भिजिट भिसामा विदेश गई अलपत्र पर्ने गरेका छन्। जसलाई व्यवस्थित बनाउन लागिएको मन्त्रालयले जनाएको छ।

सरकारको निर्णय अनुसार मलेसिया, खाडीका इराक, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान, कुवेत, कतार र बहराइन तथा खाडी नजिकका एसियाली राष्ट्र साइप्रस, इजिप्ट, इरान, इजरायल, जोर्डन, लेबनान, प्यालेस्टाइन, सिरिया, टर्की, यमनमा अब भिजिट भिसामा जान रोक लगाइएको छ।

पछिल्लो केही महिनामा मेनपावर मार्फत नै भिजिट भिसामा ठूलो संख्यामा नेपाली ती देश गएका थिए। पछिल्लो समय आकर्षक तलब सुविधाको लोभमा परी भिजिट भिसामा विदेशिनेको संख्या बढ्दो छ।