आहा रारा गोल्डकप : आर्मी र थ्री स्टार खेल्दै, सेमिफाइनलदेखि दर्शकलाई प्रवेश दिइने


काठमाडौं, माघ ११। आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटर फाइनलमा आज त्रिभुवन आर्मी क्लब र थ्री स्टार खेल्दैछन् । खेल दिउँसो साढे दुई बजे पोखरा रङ्गशालामा हुनेछ । आजको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ।

मनाङ पुलिस क्लबलाई २–० गोलले हराउँदै अन्तिम चारमा पुगिसकेको छ । यस्तै शनिवार भएको खेलमा बीवाईएससी मिनेसोटा यूएसएलाई ३–१ गोलले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ। प्रतियोगिताको सेमिफाइनलदेखि दर्शकलाई रङ्गशालामा प्रवेश दिइने भएको छ । आयोजक सहारा क्लब पोखराले सामाजिक सञ्जालमा भोलिदेखि हुने सेमिफाइनल खेलमा दर्शकलाई प्रवेश दिइने जनाएको हो ।

आयोजक सहाराले दर्शकलाई स्थानीय प्रशासनले लागू गरेको सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै खेल हेर्न अनुमति दिइने जनाएको छ । तर, सीमित दर्शकलाई मैदान प्रवेशको अनुमति हुने आयोजकले जनाएको छ। गएको ६ गतेदेखि सुरु भएको प्रतियोगिता दर्शकविहीन चलिरहेको थियो ।

हिजोको खेलमा सङ्कटा क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । मच्छिन्द्रले सेमिफाइलनमा भोलि एपीएफ क्बलसँग खेल्नेछ । २०औँ संस्करणको आहा रारा गोल्डकप पोखरामा चलिरहेको छ । प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछन् ।