विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र इक्वेडरले अंक बाँडे


काठमाडौं, माघ १४। कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र इक्वेडरले अंक बाँडेका छन् । शुक्रबार बिहानको खेलमा दुबै टिमले १-१ गोल गरेका हुन् । यसअघि विश्वकपको लागि छनोट भइसकेको ब्राजिल र घरेलु टोली इक्वेडर खेलमा १० खेलाडीमा सीमित भए । कासेमेरोको गोलमा ब्राजिलले आठौं मिनेटमा अग्रता बनाएको थियो ।

फेलिक्स टोरेसले ७५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । बराबरीसँगै ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ । दक्षिण अमेरिकी छनोटबाट ब्राजिल र अर्जेन्टिनाले यसअघि नै विश्वकप यात्रा तय गरिसकेका छन् ।