टाटा समुहले किन्यो एयर इण्डिया


काठमाडौं, माघ १४। भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डिया निजी व्यापारिक घराना टाटा समुहले लिएको छ । झण्डै एक वर्षसम्म चलेको नेगोसिएसन र प्रक्रियागत झमेलापछि बिहीबारबाट एयर इण्डियाको स्वामित्व आधिकारिक रुपले टाटा समुहमा गएको हो । लगातार घाटामा गएको एयर इण्डियालाई टाटा समुहले भारत सरकारसँग २ अर्ब ४० करोड अमेरिकी डलरमा खरिद गरेको हो ।

हस्तान्तरण प्रक्रिया पूरा हुनुअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टाटा समुहका अध्यक्ष नटराजन चन्द्रशेखरनसँग भेटघाट गर्नुभएको थियो । नुनदेखि स्टीलसम्मको उद्योगहरुको मालिक टाटा समुह भारतको सर्वाधिक ठूलो व्यापारिक घरानामध्येको एक हो । सन् १९३२ मा टाटा समुहले नै स्थापना गरेको एयर इण्डियाको स्वामित्व १९५३ मा भारत सरकारले लिएको थियो । अहिले एयर इण्डियाको कुद नोक्सानी ९ अर्ब ५० करोड डलरभन्दा बढी रहेको बताइएको छ ।