भर्चुअल माध्यमबाट कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौं, माघ १४। नेपाली कांग्रेसले पार्टीका काम कारबाही छरितो बनाउन केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने तयारी गरेको छ।कांग्रेस सभापति शेरबहादुर देउवाले आज शुक्रबारका लागि भर्चुअल माध्यमबाट बस्नेगरी डाकेको केन्द्रीय समिति बैठकबाट पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गरेका हुन्।
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार भर्चुअल माध्यमबाट बस्ने जनाएको छ। कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको बताएका छन्।

१४औं महाधिवेशन सम्पन भएर नयाँ कार्यसमिति बनेको डेढ महिनापछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन्। कार्यसम्पादन समितिमार्फत केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा पार्टीका आन्तरिक र राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा निर्णय गर्न सकिने हुँदा देउवाको प्राथमिकतामा कार्यसम्पादन समिति परेको हो। यसअघि कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग छलफल गरिरहेको भन्दै असन्तुष्टि जनाएको थियो। यहीबीच कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।

कांग्रेस विधानअनुसार कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी स्वतः सदस्य हुने व्यवस्था छ। कांग्रेसमा १३ जना पदाधिकारी छन्। कोषाध्यक्ष तोकिएको छैन। यस्तै, सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तलाई ध्यानमा राखी केन्द्रीय समितिका ३१ जनाको नाम केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्न सक्ने विधानमा व्यवस्था छ।