काठमाडौं, माघ १५। नेपाल र पश्चिम अफ्रिकी देश मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज हुने भएको छ । दुई देशबीचको दुईमध्ये पहिलो मैत्रीपूर्ण खेल बेलुकी पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ। मैत्रीपूर्ण खेलअघि शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको प्री म्याच कन्फ्रेन्समा दुवै टोलीले जीतको लक्ष्यका साथ मैदान उत्रने बताएका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरन चेम्जोङले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा छुट्टै अनुभव हुने बताए । नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो खेलका लागि नेपालले सबै तयारी पुरा गरिसकेको भन्दै नेपालले पहिलाको गल्तीलाई सुधारेर प्रदर्शन गर्ने बताएका छन् । त्यस्तै मरिसस फुटबल टोलीका प्रशिक्षक टोनी फ्रान्कोइसले पनि नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको बताए ।
कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दर्शकसहित अन्तर्राष्ट्रिय फुटबलको आयोजनाका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तयारी पूरा गरेको छ । करिव १५ हजार दर्शक क्षमताको दशरथ रंगशालामा बढीमा ५ हजार दर्शकले प्रवेश पाउनेछन् । मोरिसससंगको दोस्रो खेल मंगलबार हुने छ ।