एमसीसीलाई लिएर बाबुराम र भीम रावलको जुहारी, रावलकाे पीचएडी नक्कली ?


काठमाडौं, माघ १८। अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर दुई ‘डाक्टर’ नेताबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र एमाले नेता डा. भीम रावलबीच आरोप प्रत्यारोप चलेको हो । डा. भट्टराईले आफूमाथि गलत आरोप लगाएको भन्दै डा. रावलको पीएचडी कतै नक्कली त हैन भनी आशंका गरेका छन् ।सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता लेख्दै डा भट्टराईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर डा रावलले गलत आरोप लगाएको बताए ।

उनले भनेका छन्, ‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको ? हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

त्यसअघि डा रावलले सांसदहरूलाई स्मृति पत्र भन्दै एक सन्देश जारी गरेका थिए, जसमा डा भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गराएको आरोप समेत थियो । उनले भनेका थिए, ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउनमै व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो । त्यो प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ ।’ बाबुराले गाेप्य रूपमा सम्झाैता गरेकाे भन्ने डा रावलकाे आरोप तथ्यसहित पुष्टि गर्न उनले चुनाैती दिएका छन् ।