आगो तापिरहेकालाई टिपरले ठक्कर दिदां २ जनाको मृत्यु


बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर ३ सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मकवानपुरमा जिप चालकको मृत्यु

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटमा जिप र टिपर आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हिजो बेलुकी पौने ९ बजे को १ क १३२८ नम्बरको टिपरसँग मे १ च ५९९४ नम्बरको जिप ठोक्किंदा जिप चालक काठमाडौं बालाजुका ४० वर्षीय शिव कार्कीको मृत्यु भएको हो । उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका जिपमा सवार काठमाडौंकै दिनेश कार्कीको चुरेहिल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।