निर्वाचनबारे प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग छलफल


प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको छ ।

गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने निर्णय गरेको थियो । सो निर्णयपछि प्रधानमन्त्री देउवाले पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितका आयोगका पदाधिकारी मंगलबार बालुवाटार जानेछन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि नै निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ ।

सरकारले बैशाख अन्तिम साता वा जेठ पहिलो सातामा स्थानीय तह निर्वाचनको मिति घोषणा तयारी गर्ने गृह कार्य गरेको छ । आयोगलाई कम्तिमा निर्वाचनका लागि १२० दिन आवश्यक पर्ने देखिन्छ ।