जेठमै निर्वाचन गर्ने विषयमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल


प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो ।

सोही विषयमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच मंगलबार छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल ४ जेठमै निर्वाचन गर्ने विषयमा केन्द्रित थियो । बैठकमा आयोगले जेठ ४ मा चुनावको मिति प्रस्ताव गरेको थियो ।

सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन ।