नेप्से सूचकसँगै कारोबार रकम बढ्यो, हाइड्रोपावरकामा लगानीकर्ताको आकर्षण


मंगलबार नेप्से सूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन नेप्से सूचक १९ अंकले बढ्दा साढे ६ अर्ब बढीको शेयर खरिदबिक्री भएको छ।

अघिल्लो दिन साढे १३ अंकले घटेको नेप्से मंगलबार १९.२९ अंकले बढेर २८९१.३४ विन्दुमा पुगेको छ। जेठ पाँचभित्रै स्थानीय तहको चुनाव गर्न सरकारले तयारी थालेसँगै शेयर बजारमा पनि सुधार देखिएको हो।

यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार साढे ६ अर्ब बढीको शेयर कारोबार भएको हो। यस दिन ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रुपैयाँ बराबरको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको छ। अधिकाँश हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य बढ्दा उक्त उपसमूहको सूचक ३.२२ प्रतिशतले बढेको छ। कारोबारमा आएका १३ उपसमूहमा ९ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ४ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

मंगलबार विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बुद्धभुमि हाइड्रोपावरको ९.९९ प्रतिशत, नेश्नल हाइड्रोपावरको ७।५० प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको ७.२५ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ५.९५ प्रतिशत र मैलुङ खोला जलविद्युतको ५.५२ प्रतिशतले बढेको छ।

यस्तै, नेरुडे लघुवित्तको ३.१७ प्रतिशतले घटेको छ भने मेरो माइक्रोफाइनान्सको २.२८ प्रतिशत, सिभिल लघुवित्तको २.१२ प्रतिशत, अजोड इन्स्योरेन्सको २.०४ प्रतिशत र ग्लोबल आइएमई लघुवित्तको २ प्रतिशतले घटेको छ।

मंगलबार नेश्नल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३९ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख, अपि पावरको ३५ करोड ७ लाख, अप्पर तामाकोशीको ३४ करोड र जलविद्युत लगानी तथा विकास कम्पनीको ३० करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएकामध्ये १४८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३६ वटा कम्पनीको शेयरमूल्य घटेको छ। यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर छ।