सात दिन भित्र ८६ करोड बक्यौता बुझाउन पाँच क्यासिनोलाई अल्टिमेटम


काठमाडौं, माघ १९। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले ५ कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण वापतको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद दिएको छ। मन्त्रालयले रोयल्टी र नवीकरणबापतको ८६ करोड रकम तिर्न आलटाल गर्ने पाँच क्यासिनोलाई कारबाहीको चेतावनीसहित ७ दिनको म्याद दिएको हो। सात दिनभित्र भुक्तानी नगरे इजाजत रद्द गर्ने मन्त्रालयको निर्णय छ।

मन्त्रालयले क्यासिनो सञ्चालन गरिरहेका दरबारमार्गस्थित होटेल याक एन्ड यती, लाजिम्पाटको ओरियन्टल होटेल लिमिटेड (र्‍याडिसन होटल), रक इन्टरनेसनल काठमाडौं, ह्याप्पी आवर र सेन्ट्रल मिडिया प्रा.लि. काठमाडौंलाई आर्थिक वर्ष २०७६/७७ को रोयल्टी र नवीकरण रकम सात दिनभित्र भुक्तानी गर्न भनेको हो।यी क्यासिनोले कुल ८५ करोड ८४ लाख ४७ हजार ८ सय ४८ रूपैयाँ सरकारलाई तिर्न बाँकी छ।

सबैभन्दा बढी ह्याप्पी आवरले २१ करोड ५५ लाख, होटेल याक एन्ड यतीले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल (र्‍याडिसन) ले १८ करोड ७६ लाख, सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार र रक इन्टरनेसनलले ११ करोड ४५ लाख ८२ हजार ८ सय ४८ तिर्न बाँकी छ।यी कम्पनीहरुलाई यसअघि २०७८ कात्तिक ७ गते ३५ दिने सूचना जारी गरी बक्यौता बुझाउन भनिएको थियो । त्यसपछि फेरि पुस २७ गते पत्र पठाएर १५ दिने म्याद दिइएको थियो ।

हालसम्म पनि बक्यौता रकम दाखिला नगरेपछि विभागले आज सार्वजनिक सूचना जारी गरी सात दिनको म्याद दिएको हो ।सात दिनभित्र पनि बक्यौता रकम दाखिला नगरे कानून बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।क्यासिनो सञ्चालकहरूले वर्षौदेखि रोयल्टी रकम नतिरेको पाइएपछि पर्यटनमन्त्री प्रेम आलेले कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए।

क्यासिनो नियमावली, २०७० को दफा १४ मा प्रत्येक वर्ष नवीकरण नगर्ने र रोयल्टी रकम नतिर्ने क्यासिनोको इजाजतपत्र रद्द गर्न सकिने व्यवस्था छ यसअघि १३ करोड रुपैयाँ नतिरेरै अमेरिका उड्न लागेका एसएचएल म्यानेजमेन्टका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई मन्त्री आलेको निर्देशनमा नेपाल छोड्न रोक लगाइएको थियो । विमानस्थलबाटै नियन्त्रणमा लिइएपछि बोल्सोभरले रोयल्टी तिरेका थिए ।