कार्ययोजना पेस गर्न ४ वटै सुरक्षा निकायलाई निर्देशन


केन्द्रीय सुरक्षा समितिको बैठकले आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बुधबार दिउँसो मन्त्रालयमा बसेको बैठकले सो निर्देशन दिएको हो ।

निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । सो प्रस्तावमा सरकारले निर्णय गरिसकेको छैन । तर, सुरक्षा निकायलाई तयार रहन र आवश्यक सुरक्षा रणानीतिबारे छलफल गर्न बैठक बसेको थियो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको उपस्थिति थियो ।

सुरक्षा निकाय प्रमुखले निर्वाचन सुरक्षासम्बन्धी आ–आफ्नो धारणा राखेका थिए । बैठकमा विशेषत मधेश तराईमा सिके राउतको आन्दोलन, विपलवका कार्यकर्ता र प्रमुख प्रतिपक्षि दलका विद्यार्थी र युवा संघका कार्यकताको क्रियाकलाप सुरक्षा चुनौतिका रुपमा रहेको बताइएको छ ।

त्यसैगरी एमसिसिको विषयमा हुने आन्दोलन र विभिन्न सामाजिक अभियान्ताहरुको आन्दोलनलाई समेत सुरक्षा चुनैतिको रुपमा लिइएको छ ।