डिजिटल नेटवर्किङ व्यवसायमा नलाग्न आग्रह


काठमाडौं, माघ २१। अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नलाग्न आफ्ना कार्यकर्तालाई आग्रह गर्नुभएको छ । बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गर्नुभएको हो ।

डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । मन्त्री शर्माले भन्नुभयो, “कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्नुहोस् । ”

उहाँले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । जिम्मेवार तहका नेताहरूले नै वडाको नेतृत्व लिएर श्रम समूह र श्रम दल बनाएर उत्पादनको काम अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो । मन्त्री शर्माले पार्टीका हरेक कार्यकर्ताले अभावको जीवनबाट मुक्ति पाउन उत्पादन कार्यमा जोडिएर समृद्ध बन्ने र जनतालाई पनि समृद्ध बनाउने अभियानमा लाग्नुपर्नेमा उहाँको जोड थियो ।