जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्यो, नेप्से सीईओमा कार्की नियुक्त


काठमाडौं, माघ २१। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो।

लघुवित्तले निष्काशन गरेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ। नेपाल धिर्ताे पत्र बोर्डमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत भष्ट्राचारको आरोपमा निलम्वनमा परेपछि छ महिना देखि आईपिओ जारी गर्ने काम रोकिएको थियो ।

नेप्से सीईओमा कार्की नियुक्त

यता नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।

नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको सो पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो ।

रिक्त पदका लागि माग गरिएको आवेदनमा कार्की सहित ११ जनाले आवेदन दिएका थिए । छनोट समितिले कार्की सहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गरेको हो । सोही मध्येबाट मन्त्रिपरिषदको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।

नेप्से पछिल्लो ६ महिनादेखि नेतृत्त्वविहिन अवस्थामा थियो । पदबाट चन्द्र सिंह साउदले २०७८ भदौ ८ गते राजिनामा दिएका थिए । प्रिमियम मुल्यमा आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा खरीद गरिएको सार्वजनिक भएपछि उनले पदबाट राजिनामा दिएका थिए।