मुग्लिन सडक खण्डमा टिपर र भ्यान ठोक्किँदा आमा छोराको मृत्यु


मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान विपरित दिशाबाट गइरहेको लु २ ख १७०१ नम्बरको टिपरमा शुक्रबार बिहान ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ । भ्यानमा सवार एक यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको सो दुर्घटनामा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगानाको मृत्यु भएको हो ।

निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारकम क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन् ।

निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका–३ की धिरमाया वलीको अवस्था पनि गम्भीर रहेको उनले बताए । भ्यान चालक गल्छी–१ का राजकुमार ढुंगानाको अवस्था मध्यम रहेको छ ।