शक्तिशाली पश्चिम वायुको प्रभावले सबै प्रदेशमा वर्षा


पश्चिमी न्यूनचापीय प्रणाली वेस्ट्रन्ली डिस्ट्रबेन्सको शक्तिशाली प्रभावका कारण शुक्रबार बिहानैदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका उच्च पहाडी र हिमाली भागमा बाक्लो हिमपात भइरहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गर्दा पछिल्लो २४ घण्टामा नेपालको विभिन्न स्थानमा भैरहेको वर्षाको विवरणले देखाएको छ । काठमाडौं उपत्यका आपसापका विभिन्न स्थानमा पनि बिहानैदेखि हिमपात भइरहेको छ । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । सडकमा आवतवात समेत निकै कम छ ।

महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानांगका अनुसार पहाडी र तराईका भागमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । मुलुकको पश्चिमी भागमा बिहीबारदेखि नै वर्षा सुरु भएको हो भने गण्डकी प्रदेशभन्दा पूर्वी भागमा शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ ।

प्रधानांगका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी वर्षा डोटीमा ५७ मिलिमिटर भएको छ । ५० मिलिमिटरभन्दा बढी वर्षालाई महाशाखाले भारी वर्षा भनेको छ ।

काठमाडौंलगायतका स्थानमा भने मध्यमखालको १० मिमिभन्दा बढी र ५० मिमि भन्दा कम वर्षा भइरहेको छ । सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशका विभिन्न स्थानमा भइरहेको जनाएको छ । यता पूर्वीभागमा बिहानदेखि मात्र वर्षा हुन थालेको छ । गण्डकीका तनहुँमा सबैभन्दा बढी ५४ मिमि वर्षा भएको छ । चितवनमा पनि भारी वर्षा भएको छ ।

शनिबारसम्म मलुकका विभिन्न भागमा चट्याङ र मेघगर्जनसहित वर्षा जारी रहने महाशाखाले अनुमान गरेको छ । महाशाखाका अनुसार शनिबार रातिदेखि मौसममा केही सुधार आउन थाल्नेछ । आइतबारदेखि भने मौसममा सुधार आउने उनले बताए ।

पश्चिमी न्यूनचापीय प्रणालीसँगै अधिकतम तापक्रम र न्यूनतम तापक्रममा समेत गिरावट आएपछि चिसो बढी महसुस भएको मौसमविद्हरुले बताएका छन् । आइतारदेखि यो प्रणाली सकिए त्यसपछि यस वर्षको न्यानो दिनको सुरु हुने अनुमान गरिएको छ ।