मधेश प्रदेशमा हावाहुरीले दुई विद्यार्थीसहित तीनको मृत्यु


काठमाडौं, माघ २१। मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ।हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए।‘हावाहुरीले अचानक मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भयो,’ उनले सेतोपाटीसँग भने। त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका—१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घरमै च्यापिएर फुलमतीयाका दुई वटा बाख्रासमेत मरेको प्रहरीले जनाएको छ।