प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु


काठमाडौं, माघ २२। प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटनामा ज्यान गुमाउने आठ जनामध्ये बाबु छोरीको पहिचान खुलेको छ।प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार जिल्लाको नौंमुखी गाउँपालिका वडा नं. ६ जिनावबाङका ३९ वर्षीय बुवा वसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको मृत्यु भएको छ।

यी बाहेक अन्य ६ जना मृतकको पहिचान खुल्न बाँकी रहेको डिएसपी थापालले बताए । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार दुर्घटनामा परि पाँच महिला र तीन पुरूषसहित आठ जनाको मृत्यु भएको छ। छ जनाको घटनास्थलमै र २ जनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको प्रवक्ता गैरेले जानकारी दिए।बेहुला बेहुलीसहित पाँच घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बेहुला-बेहुली दुवैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख थापाले जानकारी दिए।

दुर्घटनास्थल निकै विकट भएकाले घाइतेको उद्धार गर्न तथा अस्पताल पुर्‍याउन कठिन भएको प्रहरीले जनाएको छ।नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो। जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ।रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अहिले भने वर्षा रोकिएको छ।