जलवायु परिवर्तनका कारणले सगरमाथाको हिउँ पग्लने क्रम तीव्र


काठमाडौं, माघ २२। विश्वका सर्वोच्च शिखर सगरमाथाको माथिल्लो क्षेत्रबाट मानवीय अतिक्रमणका कारणले भएको जलवायु परिवर्तनले अति तीव्र गतिमा बरफ पग्लिँदै गएको पछिल्लो अध्ययनबाट देखिएको छ । नेचर जर्नलको क्लाइमेट एन्ड एट्मसफियरिक साइन्समामा प्रकाशित अध्ययन अुनसार मानविय गतिविधिका कारण विश्वको सर्वोच्च शिखरमा जम्मा हुन दशकौं लागेको हिउँ हरेक वर्ष तीव्र गतिमा पग्लिँदै गएको छ ।सगरमाथाको ८ हजार २० मिटर उचाइ र आसपास क्षेत्रमा रहेको साउथकोल हिमनदीमा करिब दुई हजार वर्षको अवधिमा जम्मा भएको हिम (बरफ) पछिल्लो करिब २५ वर्षमा पग्लिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

साउथकोल हिमनदीमा हिम जम्मा हुन लागेको समयभन्दा पग्लिने समय करिब ८० गुणा तीव्र देखिएको अनुसन्धानकर्ताले बताएका छन् । अध्ययनले जलवायु परिवर्तनको प्रभाव माथिल्लो हिमाली क्षेत्रमा आकलन गरिए भन्दा गम्भीर रूपमा पर्ने देखाएको अनुसन्धानकर्ताले बताएका छन् ।सगरमाथासहित माथिल्लो हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावका कारण तीव्र गतिमा हिम पग्लिँदा त्यसको गम्भीर प्रभाव तल्लो तटीय क्षेत्रका बासिन्दा, उनीहरूको जनजीविका तथा खानेपानी, सिँचाइ र जलविद्युतमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनबाट साउथकोल हिमनदीको बरफ घट्नुमा मानवीय कारण भएको जलवायु परिवर्तन कारक रहेको स्पष्ट रुपमा देखिएको प्रतिवेदनमा जनाइएको छ ।विशेषगरी सन् १९९० को दशक यता हिम पग्लिने क्रम तीव्र भएको देखिएको हो । पछिल्लो २५ वर्षमा साउथकोल हिमनदीले करिब ५५ मिटर हिम गुमाएको छ ।सन् १९५० को दशकदेखि नै हिम गुम्ने क्रम सुरु भए पनि सन् १९९० दशकको पछिल्ला वर्षदेखि तीव्र गतिमा हिम पग्लिएको देखिने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।