पशुपति क्षेत्रका फूलपसल तथा टहरा १५ दिनभित्र व्यवस्थित गर्न आह्वान


काठमाडौं, माघ २२। पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना निकालेर अव्यवस्थित फूलपसल एवम् टहरा १५ दिनभित्र व्यवस्थित गर्न आह्वान गरेको छ । पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित फूलपसल एवम् टहरा राखिएको कोषले निकालेको सूचनामा उल्लेख छ ।

यी क्षेत्रमा अव्यवस्थित तवरले छाप्रा बनाइ फूल एवम् उपहारजन्य पसल सञ्चालनमा ल्याउँदा पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको छ । भक्तजन, तीर्थयात्री, पैदलयात्री एवम् पर्यटकलाई समेत यसले हिँडडुलमा समस्या हुनुका साथै नकारात्मक असर गरेको छ । पशुपति क्षेत्रको मापदण्ड एवम् कोषको स्वीकृति नलिइ सञ्चालित पसल एवम् बसोबासका लागि बनाइएका अस्थायी टहरा र वनकाली वनगणेश क्षेत्रमा रहेका अस्थायी फूल पसल, पूजासामग्री पसल, पूजा भाँडा पसल पनि हटाएर व्यवस्थित गर्न कोषले सूचित गरेको छ ।

पसल सञ्चालकसँग कोषले यसअघि गरेको सहमति बमोजिम निर्माण गरेको स्थायी संरचनामा गोलाप्रथाबाट छनोट गरी व्यवसाय गर्न दिइने कोषका सदस्य सचिव डा मीलनकुमार थापाले जानकारी दिनुभयो ।पशुपति क्षेत्रबाट व्यवसायीलाई हटाउन नभइ व्यवस्थित गर्न लागेको उहाँले बताउनुभयो ।पशुपति क्षेत्रलाई आकर्षक धार्मिक गन्तव्यका रुपमा विकास गर्न कोषले अव्यवस्थित संरचना हटाएर व्यवस्थित, सफास्थलका रुपमा विकास गर्न लागेको हो । कोषले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूल सडक तथा सहायक सडकमा हिँड्न पैदलयात्रीलाई असर गर्ने गरी राखिएका पाली एवम् टहरा, नाङ्ले पसलसमेत १५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।