जीप दुर्घटना अपडेट, मृतक संख्या आठ पुग्याे


काठमाडौं, माघ २२। प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । शनिबार बिहान बेहुली लिएर बेहुलाको घर फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप प्युठानको ओखरपाटामा दुर्घटनामा परेको थियो । उक्त जिप प्युठानकै नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ फर्कदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो ।

घटनास्थलमै ६ जनाको ज्यान गएको थियो भने अन्य २ को उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीकार्यालय प्युठानका अनुसार मृतकहरुको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा बेहुलासहित ५ जना घाइते भएका छन् । घाइते ५ को अवस्थापनि गम्भीर रहेकोले उपचारका लागि जिल्ला बाहिर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।