हावाहुरी र हिमपात प्रभावितलाई राहत तथा उचित व्यवस्थापन मिलाउन गृहमन्त्रीकाे निर्देशन


काठमाडौं, माघ २२। गृहमन्त्री बालकृष्ण खाँणले हिमपात र हावाहुरी प्रभावित नागरिकलाई राहत तथा उचित व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातले प्रभावित नागरिकको उचित व्यवस्थापन एवं राहत उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।

गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

हिजो दिउँसो धनुषाको सबैला नगरपालिका–१२ मा रुखकोे हाँगा भाचिदा महेन्द्र सदाकी आठ वर्षीया छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका सात वर्षीय छोरा अरविन्दको मृत्यु भएको थियो । त्यस्तै, हिजो नै रौतहटको बुधिमाई नगरपालिका–१ मा कच्ची घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी श्रीमती ४५ वर्षीया फूलमतियादेवीको मृत्यु भएको थियो । त्यसैगरी हिमाली जिल्लाको हिमपात र तराइमा हावाहुरी र शीतलहरबाट प्रभावितलाई राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन निर्देशन दिनु भएको छ ।