मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम समयमै पूरा गर्न मन्त्री कार्कीको निर्देशन


काठमाडौं, माघ २२। सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम समयमै पूरा गर्न नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ । टेलिकम स्थापनाको १८औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पिएको अभिभारा निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

मन्त्री कार्कीले मुलुकको दूरसञ्चार क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धामा रहेको स्मरण गराउँदै कम्पनीलाई अग्रणी तथा जिम्मेवार सेवा प्रदायकको रुपमा निरन्तर स्थापित गर्न र राष्ट्रिय गौरवको एलटीई प्रविधिको फोरजी आयोजना निर्धारित समयमै पूरा गर्न पनि निर्देशन दिनुभयो । सो अवसरमा उहाँले देशका सबै स्थानीय तहमा तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याइ मुलुककै आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो र प्रविधिमैत्री सेवा पुर्‍याउने गुणस्तरीय एफटीटीएच सेवाको विस्तार मागबमोजिम गर्नुपर्ने बताउनुभयो ।

कम्पनीका सेवाहरू सुपथ र आकर्षक रहे पनि आम सेवाग्राहीबीच यिनको प्रचार नभएकोतर्फ इंगित गर्दै उहाँले यसतर्फ विशेष ध्यान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । कोभिड–१९ को महामारी र देशभित्रका प्राकृतिक विपत्तिका अवस्थामा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै जनचेतनामूलक सन्देश प्रवाह र सूचना सम्प्रेषणमा कम्पनीले पुर्‍याएको योगदानप्रति माननीय मन्त्रीले धन्यवादसमेत व्यक्त गर्नुभयो । सोही अवसरमा प्रमुख अतिथिबाट भर्चुअल माध्यमबाटै कम्पनीको अठारौं वार्षिकोत्सवको उपलक्ष्यमा तयार पारिएको स्मारिका र भिओएलटीई सेवाको व्यावसायिक शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले ग्राहक संख्या मात्र बढाएर नपुग्ने उल्लेख गर्दै सक्रिय ग्राहकसंख्याको बढोत्तरी र राजश्वमा वृद्धि हुनुपर्नेतर्फ सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘कम्पनीका सेवाहरू यति दिगो र गुणस्तरीय हुनुपर्‍यो कि एकपटक प्रयोग गरिसकेपछि ग्राहकले यसलाई छाड्नै नसकुन् ।’ उहाँले यस्तो सेवा मुलुकभर विस्तार गर्न कम्पनीलाई बाधा पारेका पक्षहरुको पहिचान गरी चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा ग्राहकको चाहना बमोजिमका गुणस्तरीय सूचना प्रविधिसम्बन्धी सेवाहरु प्रदान गर्नु नेपाल टेलिकमको पहिलो दायित्व भएको बताउनुभयो । उपभोक्ताको सन्तुष्टिलाई मुख्य आधार मानी सेवा प्रदान गर्नु कम्पनीको प्रमुख चुनौती रहेको उहाँको भनाइ छ । नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भिओएलटीई सेवाको व्यावसायिक शुरुवात गरेको जानकारी गराउनुभयो ।

कम्पनीको १८औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ उपलब्ध गराइएको र सो अन्तर्गत जम्मा रु. २९४ मा २० जीबी डाटा १० दिनसम्म, रु. ९८ मा ६ जीबी डाटा ३ दिनसम्म र रु. ६९ मा माघ १७ गतेदेखि फागुन ३ गते (फेब्रुअरी १ देखि १५) सम्म हरेक दिन एक एमबिपिएस डाटा प्रयोग गर्न सकिनेछ । यो अफर माघ १७ गतेदेखि फागुन ३ गतेसम्म प्रयोग गर्न सकिनेछ । वार्षिकोत्सवको दिन माघ २२ गते २४ घण्टाका लागि कम्पनीको नेटवर्क भित्र भिओएलटीई कल निःशुल्क गरिएको छ ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरु कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तिमा एक÷एकवटा सरकारी र सामुदायिक विद्यालयहरूमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघ लगायतका जनावर र चराचुरुंगीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने उहाँले बताउनुभयो । यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक तथा कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको थियो ।