प्रदेश १ मा आज मन्त्रिपरिषद विस्तार, ७ मन्त्रालय फुटाएर पुर्‍याइयो १३


काठमाडौं, माघ २३। प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सात मन्त्रालय रहेको प्रदेश १ मा अब मन्त्रालय नै १३ वटा बनाइएको छ। यी मन्त्रालयहरूमा सत्तारूढ दलहरूबाट आज मन्त्री नियुक्त गर्ने तयारी छ। प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्रिपरिषदमा रहनेछन्।

संघीय लोकतान्त्रिक मञ्चलाई यसअघि नै राज्यमन्त्री दिइएको थियो। साथै यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन्। झापाका ओमप्रकाश सरावागी, ताप्लेजुङका प्रतापप्रकाश हाङगाम र मोरङका शेखरचन्द्र थापा मन्त्री हुने सम्भावना छ। यस्तै नेकपा (एकीकृत समाजवादी) बाट खोटाङका राजन राई, इलामकी खिनुलङवा लिम्बु र मोरङका उपेन्द्रप्रसाद घिमिरे मन्त्री हुने तयारीमा छन्।

नेकपा माओवादी केन्द्रबाट यसअघ १ मन्त्री रहेकोमा आज २ जना थप गर्न लागिएको छ। खोटाङका रामकुमार राई र झापाका झलकबहादुर मगर मन्त्री हुन लागेका छन्।जसपा र संघीय लोकतान्त्रिक मन्चबाट एकेक जना मन्त्री हुने गरी सत्तारूढ गठबन्धनले मन्त्रालय भागबन्डा गरेका थिए।सात मन्त्रालय फुटाएर १३ बनाउने यसअघि नै मन्त्रिपरिषदबाट निर्णय भएको थियो। प्रदेश १ मा १९ मन्त्रालयसम्म बनाउन पाइने संविधानको व्यवस्था रहेको सत्तारूढ गठबन्धनले दाबी गरिरहेका छन् भने नेकपा एमालेले भने मन्त्रालय फुटाउने निर्णयको विरोध गरेको छ।

आज मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्ने र नियुक्त हुने मन्त्रीहरूले आज ११ बजे सपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले बताएको छ।‘मुख्यमन्त्रीले मन्त्री हुनेहरूको नाम दलहरूसँग माग गर्नुभएको छ। दलहरूले नाम दिएका छन्। सपथ हुने बेलासम्म एक/दुई नाम यताउता पनि हुनसक्छ,’ स्रोतले भन्यो। गत कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए।