बालुवाटार छाडेपछि एमाले अध्यक्ष ओली पहिलो पटक बालुवाटार जाँदै


प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीबाट भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न आइतबार अपरान्ह ४ बजे अध्यक्ष ओली बालुवाटार जाने भएका हुन् ।

अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाइँका​ अनुसार भेटमा समसामयिक विषयमा छलफल हुने छ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका ओलीले आज देउवासँग भेटवार्ता गर्न लागेका हुन् । आजको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी हुने बताइएको छ । साथै ओलीसँग एमाले महासचिव शंकर पोखरेल पनि भेटमा जाने भएका छन् ।

देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ओली बालुवाटार जान लागेका हुन । प्रधानमन्त्रीबाट बहिगर्मनपछि असार ३० गते ओलीले बालुवाटार छोडेका थिए । यसअघि पुस २४ गते ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए । त्यसपछि पहिलो पटक देउवा र ओलीबीच भेटवार्ता हुँदैछ ।

भेटमा विशेष एमसीसीको विवाद बारे छलफल हुने बुझिएको छ । अमेरिकी संस्था एमसीसीले नेपाललाई कार्यान्वयन गर्न दिएको समय सकिनै लागेको समयमा नेपालका राजनीतिक दलबीच निकै विवाद भएको छ । आम नागरिकले एमसीसी अनुमोदन गर्न नहुने पक्षमा सडकबाट दवाव दिएका छन् ।