बालुवाटारमा शिर्ष नेताको बैठक


बालुवाटारमा तीन दलका ५ जना नेताको छलफल जारी छ । केहीबेर अघि सुरु भएको छलफलमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस नेता समेत रहेका सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी रहेका छन् ।

नेताहरुबीच एमसीसी, स्थानीय निर्वाचन र संसद अवरोध खुलाउने तीन एजेण्डा रहेको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जनाएकी छन् । एमसीसीबारे तीन दलका नेताहरुको बुझाई फरक–फरक छ भने स्थानीय निर्वाचनका सम्वन्धमा तीनै दल लगभग एक ठाँउमा रहेपनि प्रमुख प्रतिपक्षबाट भइरहेको संसदको अवरोध खुलाउने विषयमा पनि दलहरु एकमत छैनन् ।

एमसीसी बारेमा दलहरुबीच निकै विवाद भएपछि तीन दलका शिर्ष नेताहरुबीच छलफल भएको हो । एमाले अध्यक्ष ओली बालुवाटारबाट बाहिरीएपछि पहिलो पटक बालुवाटार पुगी ओली, प्रचण्ड र देउवाबीच छलफल भएको हो ।