एमसीसी संसदमा पेश गर्ने बारे सभामुख सापकोटा र मन्त्री बडूबीच छलफल


सभामुख अग्निप्रसाद सापकोटासँग कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलन्द्रप्रसाद बडूले एमसीसी सम्झौता संसद्‌मा पेस गर्नेबारे छलफल गरेका छन् । सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबारमा पुगेर आइतबार मन्त्री बडूले एमसीसी प्रतिनिधिसभाको आगामी बैठकमा पेस गर्ने सरकारको तयारी रहेको जानकारी गराएका हुन् । सभामुख सापकोटाले भने संसद् बैठक सञ्चालन गर्नेबारे दलहरूले पहल लिनुपर्ने बताएका छन् ।

सभामुख सापकोटाले मन्त्री बडूलाई प्रधानमन्त्री र सत्ता गठबन्धनका दलहरूले संसद् सुचारु गर्न पहलकदमी लिइदिनुस् भन्ने सन्देश पुर्‍याइदिनुस्ु भनेका थिए ।

बडूले भने प्रधाानमन्त्री देउवाले एमसीसी पेस गर्नेबारे तयारी भइरहेको जानकारी सभामखुलाई दिएका थिए । सभामुख सापकोटाले एमालेको अवरोधबीच एमसीसीमात्रै पेस गर्न गाह्रो पर्ने बताएका थिए । महत्वपूर्ण विधेयक संसद्‌मा अड्किएका बेला एमसीसीमात्रै बजेटजसरी अगाडि बढाउन गाह्रो पर्ने सभामुखले मन्त्री बडूलाई भनेका थिए ।

प्रतिनिधिसभाको बैठक माघ २६ गते १ बजेका लागि बोलाइएको छ । सभामुख र मन्त्री बडूबीच करिब १ घण्टा छलफल भएको थियो । एमसीसीसहित संसद्का बिजनेसबारे सभामुखसँग मन्त्री बडूले छलफल गरेका थिए ।

संसद्को अवरोध जारी रहेका बेला एमसीसी वा अरु बिजनेस अगाडि बढाउन नसकिने सभामुखले बताएका थिए । संसद् सञ्चालन भएमा सबै विषयमा छलफल गर्न सकिने र बिजनेस अगाडि बढाउन सकिने सापकोटाले बताएका थिए ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेता र अरु राजनीतिक दलहरूसँग पनि छलफल गरेर संसद् खुलाउने वातावरण बनाउन मन्त्री बडूलाई सभामुखले सन्देश पठाएको उनको सचिवालय स्रोतले जनाएको छ । सभामुखले एमसीसीलाई संसदमाा टेबुल नगर्ने पक्षमा रहेका छन् ।