सभामुखको मार्गप्रशस्तपछि संसद चल्न दिने, एमसीसीबारे अझै दलहरु अस्पष्ट


प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनलाई बटमलाइन बनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखको बहिर्गमनलाई मुख्य एजेण्डा बनाउँदै संसद चल्न नदिने बताएको हो ।

सभामुखको भूमिकाका कारण प्रतिनिधिसभामा उपस्थित हुन भएको बैठकमा एमालेले बताएको थियो । आफूहरुको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नसक्ने पनि एमालेले स्पष्ट गरेको छ ।

‘हामी फेरि पनि सत्ता पक्षलाई आग्रह गर्न चाहन्छौँ । हाम्रो मुद्दाहरूलाई सम्बोधन गरोस् । १४ जना गैरसांसदलाई प्रतिनिधिसभामा नराख्न हामीले बैठकमा भनेका छौँ’, बैठकपछि एमाले महासचिव शंकर पोखरेलले संवाददाताहरुलाई भने, ‘सांसदहरु बाट मात्रै प्रतिनिधि चल्न सक्छ । दलले कारबाही गरेको कुरालाई सभामुखले मान्नुपर्छ हैन भने मार्ग प्रशस्त गर्नुपर्छ भनेर हामीले राखेका छौँ ।’

प्रतिपक्षीको माग र चासोको सन्दर्भमा प्रधानमन्त्रीसहितले छलफलबाट समाधानको पहल थाल्नु भने सकारात्मक भएको एमालेले जनाएको छ ।

यस्तै आजै बसेको तीन दलको बैठकमा एमसीसीबारे नेकपा एमालेले सत्तापक्षमै स्पष्टता जरुरी रहेको बताएको छ। सत्तापक्षभित्रै एमसीसीबारे समान धारणा नरहेको एमालेको भनाइ छ ।

बैठकमा एमालेले एमसीसीबारे सत्तापक्षबाट स्पष्ट दृष्टिकोण आएपछि मात्रै पार्टीले पनि आफ्नो धारणा ल्याउने बताएको हो । प्रचण्ड र देउवाले एमसीसी अमेरिकाालाई पत्र लेखी त्यसको जवाफ नेपाललाई पठाएपछि दलहरुका बीचमा हलचल नै आएको हो ।