उपत्यकामा आजबाट हट्यो जोर–बिजोर प्रणाली, १ फागुनबाट विद्यायलयहरु खुल्ने


काठमाडौं, माघ २४। काठमाडौं उपत्यकामा जारी गरिएको स्मार्ट लकडाउन केही खुकुलो बनाइने भएको छ । जस अन्तर्गत सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली सोमबार (आज)बाट हट्ने भएको छ । यसअघि सार्वजनिक र प्राइभेट दुवै प्रकारको सवारी संचालनमा जोर-बिजोर लागू गरिएको थियो ।

तर केही दिन अघि सीसीएमसीसीले प्राइभेट र भाडाका ट्याक्सीहरुलाइ मात्रै जोर-बिजोर लागू गरेको थियो । कोरोना महामारीको तेस्रो लहर घट्दै गएको भन्दै सीसीएमसीसीले काठमाडौं उपत्यकामा जोर बिजोर प्रणली आजबाट हटाउन सिफारिस गरेको हो ।काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली हटाउनेबारे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकमार्फत निर्णय गरिएको हो ।

सिसिएमसीसीले दिएको आदेशका आधारमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार विद्यालय तथा कलेजहरु भने आगामी फागुन १ गतेदेखि मात्रै पूर्णरुपमा संचालनमा आउने छन ।भौतिक रुपमा सञ्चालन गर्न पाइने भएपनि १२ वर्ष मुनिका बालकालिकाका लागि स्थानीय तहले जिम्मा लिने छ ।