चन्द्रागिरिमा हिउँ खेल्न जाँदा हराएका पाँच जनाको उद्धार


महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनालाई गए राति उद्धार गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका उनीहरू आइतबार हिउँ खेल्न गएका थिए। बेलुकीसम्म पनि घर नफर्केपछि उनीहरूको खोजी गरिएको थियो।

५ जना हराइरहेको भन्ने खबर प्रहरीलाई आइतबार बेलुकी ८ः३० मा खबर भएको थियो। त्यसपछि प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेय र महानगरीय प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विपद व्यवस्थापन गुल्म सामाखुसीसहित ३७ जना प्रहरी टोलीले हिउँ खेल्न जाँदा हराएकाहरूको खोजी गरेको थियो।

पाँच घन्टा खोजेपछि उनीहरूलाई चन्द्रागिरि जंगलबाट राति १ः१५ बजे फेला पारिएको प्रहरीले जनाएको छ। उनीहरूलाई सकुशल उद्धार गरेर आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

महादेवस्थानकी २३ वर्षकी रिता गुरूङ, १५ वर्षकी सौभाग्य गुरूङ, १३ वर्षका सहज गुरूङ, ११ वर्षकी जेनिसा गुरूङ र ७ वर्षका एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
चन्द्रागिरीमा बिहिबार राती देखि सुरु भएको हिमपात शनिबारसम्म परेको थियो । राजधानीसहित बरपरका क्षेत्रबाट चन्द्रागिरीमा हिउमा खेल्न जानेहरुको निकै भिड भएको थियो । सफा हिउँमा खेल्नका लागि जंगल भित्र जाने प्रतिस्पर्धा हुने भएकाले मानिसहरु हराउने गरेको बताइएको छ ।