२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय


सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय लिएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको हो। तर पनि औपचारिक रुपमा भने सरकारले अझै जानकारी गराएको छैन ।

बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकबाट यो निर्णय भएको हो। निर्वाचन आयोगले यसअघि जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। तर सरकारले सोमबार आयोगसँग छलफल गरेर ३० वैशाखमै स्थानीय तह निर्वाचन मिति तोकेको हो। २०७४ साल वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो।

यस्तोमा निर्वाचन आयोगले वैशाख ३१ गते नै तीनै चरणका जनप्रतिनिधिको कार्यकाल सकिने राय सरकारलाई दिएको थियो। त्यही अनुसार सरकारले एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय लिएको हो।

सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने असोजमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिएपछि मात्रै निर्वाचनमा जानुपर्ने अडान लिएका थिए।