वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्न कानुनले नछेक्ने


सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका छन्।

उनले निर्वाचन आयोगको सिफारिस अनुसार नै वैशाख ३० गते एकै चरणमा निर्वाचनमा जाने निर्णय सरकारले लिएको बताएका हुन । मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले यसअघि जेठ ४ गतेको मिति दिएको थियो। तर आयोगसँग फेरि परामर्श गरेर यो मिति तय गरि सरकारले मिति घोषणा गरेको हो ।

मन्त्री कार्कीले वैशाख ३० गते निर्वाचन गर्दा कानुनले कुनै अवरोध नगर्ने पनि जानकारी गराएका छन्। जेठ ४ गतेभित्र निर्वाचन गर्दा कुनै कानुनी अवरोध नहुने आयोगले नै भनिसकेको छु, उनले भने, त्यसैले अब कानुन संशोधनको बाटोमा जानुपर्दैन। वैशाख ३० वा जेठ ४ गते निर्वाचन गर्दा कानुनमा खासै परिवर्तन गर्नुनपर्ने भएकाले यो निर्णय लिएका हौँ।

२०७४ साल वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो।यस्तोमा निर्वाचन आयोगले वैशाख ३१ गते नै तीनै चरणका जनप्रतिनिधिको कार्यकाल सकिने राय सरकारलाई दिएको थियो। त्यही अनुसार सरकारले एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय लिएको हो।

सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने असोजमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिएपछि मात्रै निर्वाचनमा जानुपर्ने अडान लिएका थिए।