चीनले बढायो नेपाली विद्यार्थीका लागि छात्रवृत्ति संख्या


चीनले नेपाललाई वार्षिकरूपमा नेपाली विद्यार्थीलाई दिने छात्रवृत्ति यसवर्ष बढोत्तरी गरेको छ। अघिल्लो वर्ष ४९ जना विद्यार्थीका लागि छात्रवृत्ति दिने घोषणा गरेको चीनले यसवर्ष उक्त संख्या ६७ पुर्याएको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले छात्रवृत्ति दिने सम्बन्धमा गरेको निर्णयबारे शिक्षा मन्त्रालयलाई जानकारी गराइसकिएको छ। अब, शिक्षा मन्त्रालयले जेहेन्दार विद्यार्थी छनौट गरी छात्रवृत्ति दिनेछ।

उत्तरी छिमेकीले गतवर्ष ४९ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भनेपनि १२ जना मात्रै विद्यार्थी यसअन्तर्गत छनौट भएका थिए। नेपाली विद्यार्थीको फिर्तीबारे चीनको निर्णय कुर्दै सरकार
दुई सालअघि कोरोनाको पहिलो लहर सुरु भएसँगै अध्ययन अपुरै छाडेर घर फर्केका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको चीन फिर्तीबारे अझै टुंगो लाग्न नसकेको परराष्ट्रका एक अधिकारीले बताए।

‘यहाँ रोकिएका विद्यार्थी कहिले चीन फर्किन पाउने हुन् अत्तोपत्तो छैन, तर चीनले यही वर्ष छात्रवृत्तिको संख्या अघिल्लो वर्षभन्दा बढाएको छ’ मन्त्रालयका ती अधिकारीले भने।

स्वदेश फर्केको दुई वर्षसम्म पनि चीन फर्किने वातावरण बन्न नसकेपछि नेपाली विद्यार्थी निराश देखिएका छन्। नेपाल सरकार पनि उनीहरुको गुनासो सम्बोधन गर्न नसक्दा दबाबमा परेको छ।

परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित चिनियाँ दूतावास र बेइजिङस्थित नेपाली दूतावास मार्फत चिनियाँ विदेश मन्त्रालयलगायत सरकारी निकायसँग नेपाली विद्यार्थी फिर्तीका लागि ताकेता गर्दै आएको छ।

कति संख्यामा नेपाली विद्यार्थी चीनमा अध्ययन सुचारु गर्न फर्किन पाउँछन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन। नेपालमा करिब २ हजार नेपाली विद्यार्थी अड्किएको अनुमान गरिएको छ।

अध्ययन पुरा गर्न चीन फर्किन नपाएका नेपाली विद्यार्थीले यहाँस्थित चिनियाँ दूतावास तथा परराष्ट्र मन्त्रालय र शिक्षा मन्त्रालयलगायत नेपाल सरकारका विभिन्न निकाय घच्घच्याउँदै आए। तर दुई वर्ष बित्दा पनि उनीहरुको गुनासो सम्बोधन भएको छैन।

दक्षिण कोरिया र युरोपबाट विद्यार्थी चीन फर्किए पनि दक्षिण एसियाली मुलुकबाट विद्यार्थी फिर्ता हुन पाएनन्।

चीनस्थित नेपाली दूतावासले अघिल्लो महिना पत्र पठाएर परराष्ट्र मन्त्रालयलाई चीन फर्काउने विद्यार्थीका लागि मापदण्ड बनाउँदै गरेको सूचना दूतावासले पाएको उल्लेख गरेको थियो।

केही मुलुकबाट विद्यार्थीलाई फर्काउने तर नेपाललगायतका मुलुकबाट नफर्काउने चीनको दोधारे नीति देखिएको छ। चीनले दक्षिण कोरिया तथा युरोपका केही मुलुकबाट विद्यार्थीलाई केही समयअघि फर्काएको थियो।

विशेषगरी चिकित्सा शिक्षाअन्तर्गत एमडी, एमएस, एमडीएस र एमबीबीएससहित विभिन्न संकायका पीएचडी, एमबीए र इन्जिनियरिङका नेपाली विद्यार्थीहरू चीनमा कोरोना संक्रमण बढेपछि सन् २०२० को सुरुमै स्वदेश फर्किका थिए।